Techie IT
२०८३ मंसिर ५, शुक्रबार

दसौँ राष्ट्रिय खेलकुदको तयारी पुरा, १,३३७ पदकका लागि ११ टोली भिड्ने


राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विस्तृत कार्यतालिका र पुरस्कार राशि सार्वजनिक गरेको छ ।

परिषद्को १२१औँ बोर्ड बैठकको निर्णयअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ र समापन मंसिर २७ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । यद्यपि, प्रतियोगिताअन्तर्गतका विभिन्न खेलहरू मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् ।

३२ खेलमा ११ टोलीको सहभागिता
यस संस्करणमा विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोली सहभागी हुनेछन् । परिषद्का अनुसार प्रत्येक टोलीबाट ३१४ महिला र ३४६ पुरुष गरी ६६० जना खेलाडी सहभागी हुने अनुमान छ । प्रतियोगिता सञ्चालनका लागि १ हजार ३० जना निर्णायकसहित ठूलो संख्यामा प्राविधिक जनशक्ति परिचालन गरिनेछ ।

खेलहरू कर्णालीका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशका दुई स्थानमा विभाजन गरिएको छ । जसअनुसार सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, सल्यानमा २ तथा दैलेख, कालिकोट र पश्चिम रुकुममा १–१ खेल सञ्चालन हुनेछन् ।

पहिलोपटक रजत र कांस्य विजेतालाई पनि नगद पुरस्कार
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १ हजार ३३७ पदकका लागि खेलाडीहरू भिड्नेछन् । राखेपले यसपटकदेखि रजत र कांस्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरेको छ ।

घोषित पुरस्कार राशिअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण विजेताले २० हजार, रजतले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सामूहिक (टिम) स्पर्धातर्फ स्वर्ण विजेतालाई प्रतिखेलाडी १५ हजार, रजतलाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट