शेयर बजारमा सुधारको संकेत

लगातार ६ कारोबार दिनसम्म गिरावटपछि नेपाली शेयर बजारमा सुधारको संकेत देखिएको छ । हिजोको कारोबारमा नेप्से सूचक २६ सयको सीमारेखामा परीक्षण गर्दै केही बिन्दुमा उकालो लागेको छ, जसले लगानीकर्तामा आशा जगाएको छ ।
बजार विश्लेषकहरूका अनुसार, लामो समयको गिरावटपछि देखिएको यो सुधार 'टेक्निकल बाउन्स' (technical bounce) हुन सक्ने सम्भावना छ । २६०० को सीमारेखा बजारको लागि महत्वपूर्ण समर्थन स्तर मानिन्छ, जसलाई पार गर्न सकेमा बजारमा थप सुधारको संकेत मिल्न सक्छ ।
बजारमा देखिएको सुधारले लगानीकर्तामा सकारात्मक भावना ल्याएको छ । तर, यो सुधार स्थायी हो कि अस्थायी भन्ने विषयमा अझै स्पष्टता छैन । विशेषगरी, आर्थिक नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणको अभावले बजारमा स्थायित्व ल्याउन कठिनाइ हुन सक्छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल नियु्क्तिले पनि बजारमा सकारात्मक सन्देश गएको देखिन्छ । उनि शेयर बजार लाई सहि तरिकाले नियमन र सुदृढ गर्नुपर्छ भन्ने विचार राखिरहेका छन् ।
हिजो नियुक्त भएपछि डा पौडेलले कम नियम, बढी सुपरिवेक्षणको नीति ल्याउने बताएका छन् । यसले बैंक तथा वित्तीय संस्थालाई लचकता दिने र जवाफदेही बनाउने दाबी उनले गरेका छन् । साथै, साना व्यवसायी र सर्वसाधारणसम्म ऋण प्रवाह पुग्ने वातावरण बनाउने, धनी–गरिबबीचको खाडल घटाउने, लघुवित्त संस्थालाई प्रभावकारी बनाउने, र सेयर बजारमा लगानीकर्ताको मनोबल बढाउने योजनासमेत उनले सार्वजनिक गरेका छन् ।
अब यदि बजारले २६०० को समर्थन स्तरलाई कायम राख्न सकेमा, अल्पकालीन सुधार सम्भव हुन सक्छ । तर, दीर्घकालीन स्थायित्वका लागि आर्थिक नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण, र संस्थागत लगानीकर्ताको सक्रियता आवश्यक छ ।
तपाईको प्रतिक्रिया दिनुहोस