१ अर्ब ३१ करोडभन्दा बढीको कर छली

मूल्य अभिवृद्धि कर (भ्याट) मा ठूलाे छली गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ का हार्डवेयर व्यवसायी सौरभकुमार बियानी पक्राउ परेका छन् । राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगरको संयुक्त अनुसन्धानपछि उनलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) अनुसार सीधै कारागार चलान गरिएको हो ।
राजस्व निकायले तीन महिनादेखि भ्याट छली सम्बन्धी अनुसन्धान गरिरहेको थियो । अनुसन्धानबाट बियानीले वस्तु तथा सेवाको वास्तविक कारोबार नगरी नक्कली भ्याट बिल जारी गरेर ८६ करोड रुपैयाँभन्दा बढीको कर छली गरेको खुलासा भएको छ । साथै, झुटा कर बिजक देखाएर २२ करोडभन्दा बढीको कर क्रेडिट दाबी गरेको पनि प्रमाणित भएको छ । कुल छली रकम र त्यसमा लाग्ने जरिवाना जोड्दा १ अर्ब ३१ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ ।
बियानी ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्बल’ का सञ्चालक हुन् । उनी विराटनगर–१० का स्थायी बासिन्दा भई हाल विराटनगर–७ हाटखोलामा बस्दै आएका थिए । अनुसन्धानपछि कार्यालयले सोमबार उनको नाममा थुनुवा पुर्जी जारी गर्दै धरौटी वा जेथा जमानी नदिएको भन्दै उनलाई विभागको सहमतिमा कारागार चलान गरेको हो ।
यो कारबाही आन्तरिक राजस्व कार्यालय विराटनगरको इतिहासमै पहिलो पटक भएको प्रमुख कर अधिकृत भुपालमान शाक्यले जानकारी दिएका छन् । उनका अनुसार सामान्यतः यस्ता प्रकरणमा धरौटीमा छाडिने प्रचलन भए पनि यो केस गम्भीर र योजनाबद्ध देखिएकाले ऐनअनुसार कारबाही गरिएको हो । सो दफाले आवश्यकताअनुसार ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान राखेको छ ।
शाक्यका अनुसार बियानीको कारोबारमा वस्तु वा सेवा नै नहुँदै नक्कली बिल काटिएको, सो बिलको आधारमा कर क्रेडिट लिइएको, तथा त्यसलाई देखाएर बैंक ऋणसमेत लिइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘यो एक योजनाबद्ध र संगठित करछली हो,’ उनले भने, ‘नक्कली कारोबार देखाएर राजस्व छल्ने र आर्थिक अपराध गर्ने गिरोह यसमा संलग्न देखिन्छ ।’
राजस्व कार्यालयले यस प्रकरणले विराटनगरमा मात्र नभई देशैभरि नक्कली भ्याट बिलमार्फत हुने कर छलीमा ठूलो सन्देश दिएको बताएको छ । विभाग र कार्यालयको सक्रियताले राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने र यस्ता गैरकानुनी गतिविधि निरुत्साहित हुने अपेक्षा गरिएको छ ।
शाक्यका अनुसार बियानीसँग कारोबारमा संलग्न अन्य व्यक्तिहरू र फर्महरू पनि अनुसन्धानको घेरामा छन् । यो एउटा ठूलो सञ्जालका रूपमा देखिएको छ ।
हाल यो प्रकरण अझै अनुसन्धानकै चरणमा रहेकाले अन्य विवरण सार्वजनिक गर्न नमिल्ने शाक्यले स्पष्ट पारेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस