Techie IT
२०८२ असोज ३०, बिहीबार

जोमसोममा उद्योगी व्यवसायीहरूको भेला, तदर्थ समिति गठन


मुस्ताङमा आयोजित उद्योगी व्यवसायीहरूको भेलाले राजुप्रसाद लालचनको अध्यक्षतामा मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको छ।

समितिमा सचिव तिलक विक, कोषाध्यक्ष विष्णु शेरचन र सदस्यहरूमा गणेश शेरचन, योगेश शेरचन, विनोद विसी तथा निशान तुलाचन चयन भएका छन्। यस्तै, जिल्लाभित्रका चार पालिकाबाट एक–एक जना प्रतिनिधि सदस्य मनोनयन गर्ने निर्णय पनि भेलाले गरेको छ।

संघका तत्कालीन अध्यक्ष खगेन्द्र तुलाचनले राजीनामा दिएपछि लामो समयदेखि नयाँ कार्यसमिति गठन हुन सकेको थिएन। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्य र गण्डकी प्रदेश अध्यक्ष अमृतप्रसाद भट्टचनको अध्यक्षतामा शुक्रबार जोमसोममा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो।

समितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष ढकालले स्थानीय उत्पादनको बजारीकरणमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे। उनले उत्पादनको मूल्यवृद्धि र बजार विस्तारका लागि महासंघ सहकार्य गर्न तयार रहेको समेत बताए।

अध्यक्ष ढकालले मुस्ताङको कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । गण्डकी प्रदेशका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले भने, ‘कालीगण्डकी करिडोर पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक अवसरका रूपमा यसको विकास गर्न सकिन्छ।’ उनले सरकार तथा सम्बन्धित निकायलाई करिडोरको निर्माण छिट्टै सम्पन्न गर्न र कोरला नाका व्यवस्थित ढंगले सञ्चालन गर्न आग्रह गर्दै निजी क्षेत्र आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

नेपाल–चीन सीमास्थित कोरला नाकाको सम्भाव्यता अध्ययन तथा अवलोकनका लागि महासंघका अध्यक्ष ढकाल, गण्डकी प्रदेश अध्यक्षसहित प्रदेशअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको टोली जोमसोम पुगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट