Techie IT
२०८३ असोज २३, शुक्रबार

कक्रोज जनता पार्टीको विशाल प्रदर्शन अघि दिल्लीमा इन्टरनेट सेवा बन्द


भारतमा मतदाता नामावलीको विवादास्पद पुनरावलोकन (Special Intensive Revision) र मुख्य निर्वाचन आयुक्त (CEC) ज्ञानेेश कुमारको राजीनामाको माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘ककरोच जनता पार्टी’ (CJP) ले सुरु गरेको राष्ट्रिय आन्दोलनका कारण नयाँदिल्लीमा तीव्र राजनीतिक तनाव सिर्जना भएको छ। 

प्रदर्शनलाई लक्षित गर्दै केन्द्रीय गृह मन्त्रालयले सुरक्षा सतर्कता अपनाउँदै जनपथ–कर्तव्य पथ चौबाटो वरपरको ४ किलोमिटर क्षेत्रमा इन्टरनेट सेवा अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। जारी आदेश अनुसार उक्त प्रतिबन्ध शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म लागू हुनेछ।

व्यापक गिरफ्तारी र निषेधाज्ञा
शनिबार  नयाँदिल्लीको निर्धारित विरोधस्थल “जंतरमन्तर” तर्फ लक्षित प्रदर्शनलाई रोक्न सरकारले व्यापक सुरक्षा कारबाही तीव्र पारेको छ। ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष राङ्काका अनुसार देशैभरिबाट प्रदर्शनकारी, विद्यार्थी, विपक्षी नेता तथा कार्यकर्ता गरी कम्तीमा १० हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ। प्रदर्शनमा सहभागी हुन दिल्ली आउँदै गरेका पुणेका विद्यार्थीहरूलाई समेत बाटोबाटै नियन्त्रणमा लिइएको छ।

यसअघि नै दिल्ली मेट्रोका ५७ वटा स्टेसनका प्रवेश तथा निर्गमन द्वारहरू बन्द गरिनुका साथै दर्जनौँ रेल सेवाहरू समेत रद्द गरिएका छन्। प्रदर्शनलाई ‘अवैध’ घोषणा गर्दै दिल्ली प्रहरीकी उपकमिश्नर सृष्टि पाण्डेले सबैलाई प्रदर्शनमा सहभागी नहुन आग्रह गरेकी छिन्। यसअघि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गांधी र प्रियंका गान्धी वड्रासहितका शीर्ष नेताहरूलाई समेत प्रहरीले केही समयका लागि नियन्त्रणमा लिएको थियो।

के हो विवाद ?
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसको एक अनुसन्धानले निर्वाचन आयोगभित्रै मतदाता दर्ता, नाम हटाउने र डेटा नियन्त्रणसम्बन्धी विषयमा आयुक्तहरूबीच १४ भन्दा बढी औपचारिक असहमति र विवाद रहेको खुलासा गरेपछि यो आन्दोलन सुरु भएको हो। 

देशव्यापी रूपमा सञ्चालन गरिएको यस पुनरावलोकन प्रक्रियामा करिब १३ करोडभन्दा बढी मतदाताका नाम हटाइएको छ । यसले विपक्षी दल र युवाहरूलाई आक्रोशित बनाएको छ। विपक्षीहरूको आरोप छ कि यो प्रक्रियाले विशेष गरी सत्तारूढ दल विरोधी मतदाताहरूलाई प्रभावित पारेको छ। निर्वाचन आयोगले भने यो प्रक्रिया मृत वा डुप्लिकेट नामहरू हटाउनका लागि मात्र गरिएको दाबी गर्दै आएको छ।

सुरुमा सर्वोच्च अदालतका एक न्यायाधीशले बेरोजगार युवाहरूलाई लक्षित गर्दै गरेको एक टिप्पणीबाट व्यङ्ग्यात्मक रूपमा जन्मिएको ‘ककरोच जनता पार्टी’ (CJP) अहिले भारतका ‘जेन–जी’ पुस्ताबीच ठूलो राजनीतिक शक्ति बन्दै गएको छ। यसअघि परीक्षा प्रश्नपत्र चुहावट (Paper Leak) का विरोधमा भएको आन्दोलनबाट चर्चामा आएको यो समूहले वर्तमान सरकार र निर्वाचन आयोगको कार्यशैलीविरुद्ध कडा विरोध प्रदर्शन गर्दै आएको छ।

शनिबारको प्रस्तावित मार्चलाई ककरोच जनता पार्टी सँगै बामपन्थी विद्यार्थी संगठन (AISA), नागरिक समाजका अगुवाहरू तथा किसान नेता राकेश टिकैतको समेत समर्थन रहेको छ। सरकार र निर्वाचन आयोगले भने सबै निर्णयहरू नियमसम्मत र सर्वसम्मतिबाट भएको दाबी गर्दै आन्दोलनकारीहरूको मागलाई अस्वीकार गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट