सोमबारसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न कास्की प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयका अनुसार अन्नपूर्ण, मर्दी लगायतका हिमाली पदयात्रा क्षेत्रहरूमा हिमपातको जोखिम देखिएको छ। यसैले पदयात्री तथा पर्यटकलाई यस अवधिमा पदयात्रा नगर्न अनुरोध गरिएको छ।
प्रशासनले सम्भावित विपद्जन्य घटना बाढी, पहिरो, डुबान र हिमपात हुन सक्ने भन्दै कुनै आपत् परेमा स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय वा प्रशासन कार्यालयसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।
स्थानीय तह, रेडक्रस, साझेदार संस्था, निजी क्षेत्र र नागरिक समाजलाई समेत विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सचेत गरिएको छ। त्यस्तै गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडक खण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
जल तथा मौसम विज्ञान विभागले गण्डकीसहित देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको पृष्ठभूमिमा प्रशासनले यो सूचना सार्वजनिक गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सोमबारसम्म अति आवश्यक नपरी लामो दुरीको वा रातिको समयमा यात्रा नगर्न, नदी–खोला आसपासमा विशेष सावधानी अपनाउन र सवारीसाधन क्षमता भन्दा बढी यात्रु नचढाउन आग्रह गरेका छन्।
यातायात व्यवस्थापनका लागि शुक्रवारदेखि अर्को सूचना नआएसम्म बीरेठाँटी–घान्द्रुक–उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–ताङतिङ–सिक्लेस मार्गमा दिउँसो ४ बजेभित्र मात्रै सवारी छुट्ने र फर्कने सवारी शनिबार बिहान ५ बजेपछि मात्र सञ्चालन हुने व्यवस्था मिलाइएको कास्की प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस