पशुपतिनाथ मन्दिरभित्र प्रवेश गर्ने मुस्लिम जोडी प्रहरी हिरासतमा
नियमविपरित पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी टिकटक भिडियो बनाएको आरोपमा पक्राउ परेका एक दम्पतीले यसपटकको दशैँ प्रहरी हिरासतमै बिताउने सम्भावना बढेको छ।
गत साता पशुपतिनाथ मन्दिरमा टिकटक बनाएर घर फर्किएका इटहरी उपमहानगरपालिका–८ का ३१ वर्षीय आसिम अन्सारी र उनकी पत्नी ३१ वर्षीया प्रियंका परियारलाई प्रहरीले इटहरीस्थित रङ्गशालाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। उनीहरूमाथि कानुनी कारबाहीको माग गर्दै पशुपति क्षेत्र विकास कोषले गौशाला वृत्तमा जाहेरी दिएको थियो।
काठमाडौं प्रहरी प्रवक्ता, एसपी दानबहादुर थापाका अनुसार उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ बमोजिम “धार्मिक आस्थामा आघात पुर्याएको” कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
उनीहरूको पहिलो पटक थपिएको ७ दिनको म्याद आइतबार सकिँदैछ। सोमबार म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भए पनि सोही दिनदेखि दशैँ बिदा सुरु हुनेछ। घटस्थापनादेखि १५ दिनसम्म अदालत बन्द रहने र त्यस अवधिमा थुनुवाको म्याद थप र बन्दीप्रत्यक्षीकरण बाहेकका काम नहुने भएकाले उनीहरूको दशैँ हिरासतमा बित्ने देखिएको हो। यद्यपि, सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोड्न अनुमति दिएमा भने उनीहरू रिहा हुन सक्नेछन्।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, उनीहरूले पशुपति प्राङ्गणमा मनोरञ्जनका निम्ति मात्र टिकटक बनाएको र त्यसमा कुनै धार्मिक द्वैष वा घृणा फैलाउने षड्यन्त्र नरहेको खुलेको छ। पुरुष मुस्लिम समुदायको भए पनि हिन्दू समाजमा जन्मिएर हुर्किएको कारण उनीहरूमा कुनै धर्मप्रति घृणा नभएको र कानुनी ज्ञानको अज्ञानताका कारण यो घटना घटेको पाइएको छ। अहिले उनीहरू हिरासतमा आफ्नो गल्तीप्रति पश्चाताप गरिरहेका छन्।
मुलुकी अपराध संहिताको दफा १५६ को उपदफा (२) बमोजिम यस्तो कसुरमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यस्ता मुद्दामा सामान्यतया धरौटीमा रिहा हुने अभ्यास रहे पनि अदालतको लामो बिदाका कारण उनीहरूले तत्काल राहत पाउने सम्भावना न्यून छ।



तपाईको प्रतिक्रिया दिनुहोस