पोखरामा भोलि दोस्रो दाइँ महोत्सव आयोजना हुँदै
कृषिलाई पर्यटनसँग जोड्दै स्थानीय पहिचान, परम्परा र उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव आयोजना हुने भएको छ।
पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्यमा, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागेको हो।
परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार कृषि/पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझ व्यापक बनाउने, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सव संयोजक हरि भुजेलले कृषकलाई प्रोत्साहन, कृषि प्रणालीको संरक्षण, तथा परम्परागत गतिविधिको पुनर्जीवन महोत्सवका प्रमुख उद्देश्य रहेको बताएका छन् ।
महोत्सवमा उत्कृष्ट गोरुपालक, उत्कृष्ट धान उत्पादक, धान चुट्ने, परालको भारी बाँध्ने, गुन्द्री बुन्ने लगायतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन हुनेछन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले कृषि पर्यटन पनि पर्यटन प्रवर्द्धनको महत्वपूर्ण पाटो भएकाले यस्ता महोत्सवले ग्रामीण अर्थतन्त्रदेखि पर्यटन बजारसम्म सकारात्मक प्रभाव पार्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस