अस्पतालको प्राङ्गणमै बच्चा जन्माउनु अमानवीय र लज्जास्पद घटना - आम जनता पार्टी
आर्थिक अभावका कारण सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्राङ्गणमै एक महिलाले बच्चा जन्माउनुपरेको अमानवीय र लज्जास्पद घटनाप्रति आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले विज्ञप्ति जारी गर्दै २१औँ शताब्दीमा पनि उपचार नपाएर अस्पताल परिसरमै प्रसव ब्यथा सहन बाध्य हुनु राज्यको चरम असफलता, मानवता र लोकतन्त्रकै उपहास भएको बताएकी छन्।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक सेवाबाट वञ्चित नगरिने हक सुनिश्चित गरेको छ। यस्तो संवैधानिक अधिकार हुँदाहुँदै आर्थिक अभावकै कारण महिलाले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था हुनु राज्यका लागि अत्यन्तै लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन कागजमा मात्र सीमित भएको र स्वास्थ्य प्रणालीमा चरम उदासीनता तथा विपन्न नागरिकप्रति संवेदनहीनता बढेको मोर्चाको आरोप छ।
मोर्चाका प्रमुख मागहरू
१. घटनाको सत्यतथ्य छानबिन गरी लापरबाही गर्ने अस्पताल प्रशासन र सम्बन्धित कर्मचारीलाई तत्काल कानुनी दायरामा ल्याउने।
२. पीडित बबिताकुमारी मण्डल र नवजात शिशुको सम्पूर्ण स्वास्थ्य उपचारको जिम्मा राज्यले लिँदै उचित क्षतिपूर्ति उपलब्ध गराउने।
३. स्वास्थ्यसम्बन्धी मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गरी भविष्यमा कुनै पनि नागरिकले यस्तो अमानवीय सास्ती भोग्न नपर्ने वातावरण बनाउने।
अन्तमा, मोर्चाले यस अमानवीय घटनाविरुद्ध आवाज उठाउन तथा पीडितलाई न्याय दिलाउन सम्पूर्ण नागरिक समाज, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूलाई एकजुट हुन जोडदार अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस