Techie IT
२०८३ कार्तिक ४, मंगलबार

दसैँमा खानपानले बढ्न सक्छ स्वास्थ्यमा जोखिम, कति मासु खाँदा सुरक्षित भइन्छ?


दसैँ जस्ता महान् चाडपर्वका बेला खानपान र जीवनशैलीमा सावधानी नअपनाउँदा अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढ्ने गरेको छ। चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट प्राप्त तथ्यांकअनुसार दसैँको बिदाका समयमा पनि दैनिक १५० भन्दा बढी मानिसले आपत्कालीन सेवा लिइरहेका छन्। यसरी उपचारका लागि आउनेहरूमा मुख्यतया सवारी दुर्घटनाका घाइते, हृदयघात, पक्षघात (स्ट्रोक), फुड पोइजनिङ र अपच जस्ता खानपानजन्य समस्याबाट पीडित बिरामीहरूको संख्या तुलनात्मक रूपमा धेरै रहेको अस्पतालले जनाएको छ।

सिएमसीका कलेजो रोग विशेषज्ञ प्रा. डा. दयाराम लम्सालका अनुसार चाडपर्वमा अत्यधिक मासु, चिल्लो र मदिरा सेवन गर्ने तथा राति अबेरसम्म अनिन्द्रा बस्ने जस्ता लापर्बाहीका कारण स्वास्थ्यमा गम्भीर जटिलता देखिने गरेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने सडक दुर्घटना तथा आपसी झैझगडा र दीर्घरोगीहरूले नियमित औषधि छुटाउँदा अङ्गभङ्ग र अकाल मृत्युसम्मको जोखिम रहने चिकित्सकहरूको भनाइ छ।

पोषणविद्हरूका अनुसार मासु प्रोटिन र खनिज पदार्थको राम्रो स्रोत भए पनि यसको अत्यधिक र गलत प्रयोग शरीरका लागि घातक साबित हुन्छ। विश्वव्यापी मान्यता अनुसार स्वस्थ मानिसलाई दैनिक शरीरको १ किलो तौल बराबर १ ग्राम प्रोटिन आवश्यक पर्छ। जसअनुसार एक वयस्क स्वस्थ व्यक्तिले दिनमा १०० देखि १५० ग्राम (करिब ३ देखि ४ चोक्टा) सम्म मात्र मासु खानु उपयुक्त मानिन्छ।

पोषणविद् आयुष अधिकारी र उमा कोइरालाका अनुसार रातो र प्रशोधित मासु धेरै खाँदा रगतमा खराब कोलेस्ट्रोल बढ्नुका साथै धमनीमा बोसो जमेर मुटुरोग र उच्च रक्तचापको जोखिम हुन्छ। शाकाहारी खाना पच्न २४ घण्टा लाग्ने भए पनि मासु पच्न करिब ७२ घण्टा लाग्ने भएकाले यसको अत्यधिक सेवनले कब्जियत, ग्यास्ट्रिक, पायल्स र फिस्टुला जस्ता समस्या निम्त्याउँछ। मासुलाई उच्च तापक्रममा धेरै भुट्ने, तारेर वा आगोमा डढाएर खाँदा क्यान्सरजन्य रसायन (HCA र PAHs) उत्पन्न हुने भएकाले यसलाई उसिनेर, बफ्याएर वा थोरै तेलमा झोल बनाएर खानु स्वास्थ्यका लागि हितकर हुन्छ।

अर्कोतर्फ, अस्वस्थ पशुपन्छी र दूषित वातावरणमा काटिएको मासुका कारण मानिसमा डेढ सयभन्दा बढी प्रकारका जुनोटिक (पशुबाट मानिसमा सर्ने) रोगहरू सर्ने खतरा रहने वरिष्ठ पशु चिकित्सक डा. केदार कार्की र पोषणविद् रुजु खड्का बताउँछन्।

पकाएको मासु लामो समयसम्म कोठाको तापक्रममा राख्ने वा फ्रिजमा काँचो र पाकेको खाना एकै ठाउँमा राखेर पटक-पटक तताएर खाँदा फुड पोइजनिङको जोखिम उच्च हुन्छ। त्यसैले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मिर्गौला र युरिक एसिडका बिरामीलाई रातो मासु र बोसोयुक्त परिकारबाट टाढै रहन तथा खानपानमा हरिया सागसब्जी, रेशादार खाना, सलाद र प्रशस्त पानी समावेश गर्दै सचेतताका साथ पर्व मनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट