Techie IT
२०८२ मंसिर २६, शुक्रबार

१०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिर पित्तलको छानासहित पुनर्निर्माण


म्याग्दीको बेनी नगरपालिका–८, गणेशटोलस्थित करिब १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिर पित्तलको छाना जडानसहित पुनर्निर्माण गरिएको छ। सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा समुदायले दोब्बर सहयोग जुटाएपछि मन्दिर आकर्षक रूपमै पुनर्निर्माण भएको हो।

वडाध्यक्ष उत्तम कर्माचार्यका अनुसार विसं १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको उक्त मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब २० लाख २५ हजार रुपैयाँ लगानीमा पुनर्निर्माण गरिएको हो। पुरानो संरचना भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोगमा नयाँ मन्दिर निर्माण गरिएको छ भने छाना पित्तलले छापिएको छ। बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।

निर्माण समितिका किशोर श्रेष्ठका अनुसार हालसम्म १९ लाख ९३ हजार ७९५ रुपैयाँ खर्च भएको छ। १७ लाख ६९ हजार ९७४ रुपैयाँ आम्दानी भइसकेको र २ लाख २३ हजार ८२१ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनले बताए। वरपरको दियो–बत्ती व्यवस्थासहित कूल लागत २० लाख २५ हजार पुग्ने अनुमान छ।

बेनीका स्व. मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरी मन्दिर बनाएका थिए। मन्दिर जीर्ण भएपछि उनका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरी पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणमा मोतिकुमार परिवार र आफन्तहरूको उल्लेख्य योगदान रहेको समितिले जनाएको छ।

गणेश मन्दिरमा दैनिक नित्य पूजा हुने गर्छ। गणेशचतुर्थी र मङ्गलचतुर्थीका दिन विशेष पूजाआजा गरिन्छ। पुनर्निर्माण सम्पन्न भएसँगै यही हप्ता गणेशको मूर्तिको प्राण प्रतिष्ठा गरी नियमित पूजा सुरु गरिएको छ।

गणेश मन्दिरमा पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ। बेनी बजारमा प्रत्येक वर्ष घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म चल्ने बर्खे नाचको समापन पनि यही मन्दिर परिसरमै गरिन्छ।

बेनी बजारको यो मन्दिर त्यहाँको पुरानो र महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट