निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाउँदै बिहीबार सूचना प्रकाशित गरेको हो।
निर्वाचन सुरक्षामा खटिने उद्देश्यले निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ।
दरखास्त फारम काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।
साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना हुन पाउनेछन्। माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
छनोट भएका उम्मेदवारले माघ १५ गतेदेखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ। सो अवधिका लागि उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन्। साथै, रासन तथा आउजाउका लागि ८४६ रुपैयाँ थप तयारी खर्च उपलब्ध गराइनेछ।
त्यस्तै, निर्वाचन प्रहरीले चार दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्चसमेत पाउनेछन्। पोसाक बापतको रकम भने छुट्टै उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस