चुनाव नजिकिँदै, हुम्लाको जाङ गाउँ सुनसान, हिमपातले बाटो बन्द
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी टासी ल्हाजोम स्वयं लिमी उपत्यकाकै बासिन्दा भए पनि हिमपातका कारण आफ्नै गाउँ पुग्न नसकेको बताएकी छन्।
प्रतिनिधिसभा निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा हुम्लाको हिमालपारिको लिमी उपत्यकास्थित जाङ गाउँ भने पूर्ण रूपमा सुनसान बनेको छ।
लिमी उपत्यका अन्तर्गत पर्ने नाम्खा गाउँपालिका–६ को जाङ गाउँमा ६४ घरधुरी भए पनि अधिकांश घरमा अहिले ताल्चा लागेको छ। गाउँ पूरै रित्तिँदा कतिपय घरका झ्यालका सिसासमेत फुटेका छन् भने केही घर जीर्ण अवस्थामा पुगेका छन्।
करिब एक दशकअघिदेखि बासिन्दा रोजगारी र सुविधाको खोजीमा सहर झर्न थालेपछि गाउँ निरन्तर रित्तिँदै गएको हो। प्रतिनिधिसभा निर्वाचन नजिकिँदा पनि सहर झरेका मतदाता गाउँ फर्किने संकेत देखिएको छैन।
नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने न्यालुलेक (५,२०० मिटर) तथा नाम्खा–५ को नारा लेक (४,४४९ मिटर) क्षेत्रमा परेको हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तिलगाउँ, हल्जी र जाङ पुग्न हिल्सा नाका हुँदै जानुपर्ने भए पनि हिमपातले आवागमन ठप्प बनेको छ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार नाम्खा क्षेत्रका अधिकांश मतदाता जिल्लाबाहिर छन्। हल्जीको सुनखानी आधारभूत विद्यालयमा २९३, जाङको भृकुटी आधारभूत विद्यालयमा २४७ र तिलगाउँको हिमशिखर आधारभूत विद्यालयमा १३२ मतदाता गरी तीन मतदान केन्द्रमा ६७२ मतदाता छन्। तीमध्ये करिब ३० प्रतिशत मात्रै गाउँमा रहेको उनले बताए।
सडकको हिउँ पन्छाउन वा दोस्रो चरणमा निर्वाचन गराउन प्रस्ताव राख्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको तामाङको गुनासो छ।
हुम्लाका अधिकांश गाउँमा प्रमुख दलहरू चुनावी प्रचारमा पुगे पनि नाम्खा गाउँपालिका–६ अन्तर्गतको लिमी उपत्यकामा भने हालसम्म कुनै दलको प्रचार टोली पुग्न सकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी टासी ल्हाजोम स्वयं लिमी उपत्यकाकै बासिन्दा भए पनि हिमपातका कारण आफ्नै गाउँ पुग्न नसकेको बताएकी छन्। उनले सडकको हिउँ पन्छाउन सम्बन्धित निकायसँग आग्रह गरेको जानकारी दिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस