Techie IT
२०८३ असोज ११, आइतबार

बाढी, पहिरो र हावाहुरीबाट २१ को मृत्यु, पूर्वाधारमा ठूलो क्षति


देशभर लगातारको भारी वर्षा, बाढी, पहिरो, डुबान र हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। विपद्का घटनाबाट विभिन्न जिल्लामा अहिलेसम्म २१ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्। 

सरकारले जोखिम अझै नटरेको भन्दै देशवासीलाई उच्च सतर्कता अपनाउन जोडदार आह्वान गरेको छ। विपद्का मानवीय र भौतिक क्षति विवरण प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको पछिल्लो विवरण अनुसार असोज ८ गतेदेखि सुरु भएको अविरल वर्षा र त्यससँगै आएको चट्याङ, बाढी तथा पहिरोका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर र सुर्खेतलगायतका जिल्लाहरूमा मानवीय क्षति पुगेको छ।

घटनामा परी ५ जना अझै बेपत्ता रहेका छन् भने मनाङमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको वास्तविक विवरण संकलन भइरहेको छ। देशभर मनसुनजन्य साना–ठूला गरी ४३९ वटा आपतकालीन घटना रेकर्ड भएका छन्। सरकारले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ।

नारायणी नदीमा आएको भारी बाढीका कारण बगेर आएको क्रुजसिप पुलमा अड्किएपछि सुरक्षा सतर्कता अपनाउँदै पूर्व–पश्चिम राजमार्गको यातायात सेवा अस्थायी रूपमा बन्द गरिएको छ। यसैगरी, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ र भोटेकोशी–त्रिशूली नदी किनारका सडकहरूमा गम्भीर क्षति पुगेको छ। 

कालीगण्डकीको पक्की पुलसमेत बाढीले बगाएको छ। कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली पुलमा जलसतह अत्यधिक बढेपछि नेपाल–भारत आवागमनमा रोक लगाइयो भने सेती, नारायणी र कमला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। कुलेखानी क्षेत्रको यातायात आवागमनसमेत प्रभावित भएको छ।

बाढी र पहिरोका कारण देशका प्रमुख जलविद्युत् करिडोरहरूमा ठूलो क्षति पुगेको छ। कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी क्षेत्रका आयोजनाहरूबाट उत्पादित कुल १,०१३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित बनेको छ। प्रसारण लाइनका टावरहरू ढल्दा ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिम टार्न ६९५.२ मेगावाट क्षमताका अन्य आयोजनाहरूको उत्पादन सुरक्षात्मक रूपमा बन्द गरिएको छ। 

ऊर्जा आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोलीहरू खटाइसकिएको सरकारले जनाएको छ। विपद्बाट प्रभावित नागरिकको जीवनरक्षालाई सरकारले उच्च प्राथमिकता दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्ट सक्रिय पारिएको छ। बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मीहरूलाई निरन्तर परिचालन गरिएको छ।   

स्थानीय तहहरूको समन्वयमा प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था मिलाइनुका साथै जोखिमयुक्त क्षेत्रहरूमा स्थलगत माइकिङ र सूचना प्रवाहलाई तीव्र पारिएको छ।

मौसमको जोखिम अझै कायम रहेकोले नदी तटीय क्षेत्र तथा पहाडी भागमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहले विशेष अनुरोध गर्नुभएको छ। अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न र कुनै पनि आपतकालीन अवस्था आइपरेमा सरकारको टोलफ्रि नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

साथै, विपद्को यस संवेदनशील घडीमा भ्रामक अफवाह फैलाउने, पीडितहरूको गोपनीयता हनन गर्ने र कृत्रिम कालोबजारी गर्ने गतिविधिहरूमाथि सरकारले कडा निगरानी बढाएको छ।सरोकारवाला निकायहरूद्वारा उद्धार र राहत वितरण कार्यलाई निरन्तरता दिइएको छ भने क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट