Techie IT
२०८३ श्रावण १, शुक्रबार

कर्णालीमा सत्ताको खेल: कांग्रेससँग मिल्ने महेन्द्रको दाउ, बस्नेतको कडा असन्तुष्टि


कर्णाली प्रदेशमा सरकार परिवर्तनको राजनीतिक सरगर्मी तीव्र भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारमा सहभागी हुने विषयलाई लिएर गम्भीर आन्तरिक मतभेद सतहमा आएको छ।

नेकपाका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतले कांग्रेससँग मिलेर प्रदेश सरकार गठन गर्न लागिएको प्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बस्नेतले सरकार गठनका लागि गरिएको राजनीतिक पहलमा 'हतारो' गरिएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन्। उनले लेखेका छन्, "प्रदेश सरकारमा सहभागिताको लागि यति धेरै हतारो किन गर्नु परेको होला?"

नेता बस्नेतको यो अभिव्यक्ति नेपाली कांग्रेससँगको सहकार्यमा नयाँ सरकार गठनको अन्तिम तयारी भइरहेका बेला आएको हो। बिहीबार मात्रै कर्णाली प्रदेशसभामा कांग्रेसले नेकपाको समर्थन लिएर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। उक्त प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ।

बस्नेतले सार्वजनिक रूपमै प्रश्न उठाएर असन्तुष्टि पोखेपछि सरकार गठनको रणनीतिलाई लिएर नेकपाभित्र एकमत नरहेको प्रष्ट भएको छ। पार्टीभित्रको अर्को गुटको नेतृत्व गरिरहेका नेता महेन्द्रबहादुर शाही भने कांग्रेससँगको सहकार्यमार्फत नयाँ सरकार गठन गर्ने पक्षमा दृढतापूर्वक उभिएका छन्।

नेता शाही शुक्रबार नै सुर्खेत पुगेर नयाँ सरकार गठनका लागि आवश्यक राजनीतिक जोडघटाउ र समन्वयमा जुटेका छन्। कर्णाली नेकपाभित्र लामो समयदेखि जारी 'शाही-बस्नेत' गुटगत टकराव अहिले सत्ता साझेदारीको मोडमा आइपुग्दा थप पेचिलो बनेको नेताहरूको बुझाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट