गाउँ पस्यो जङ्गली हात्ती, ज्यान जोगाउन गाउँले भागाभाग
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गर्दा ठूलो क्षति भएको छ।
गएराति गाउँ पसेको हात्तीले ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेश बमले जानकारी दिए। प्रहरीका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका कर्कटपाताले छाएका काठका घर हात्तीले ध्वस्त बनाएको हो।
हात्तीले घरमा रहेको अन्नपातसमेत नष्ट गरी खाएको प्रहरीले जनाएको छ। रातिको समयमा हात्ती गाउँ पसेपछि स्थानीयहरू ज्यान जोगाउन घर छाडेर भाग्न बाध्य भएका थिए। स्थानीय पुष्प राईका अनुसार हात्तीको त्रासले गाउँभरि भागदौड मच्चिएको थियो।
घरविहीन बनेका परिवारका लागि चौदण्डीगढी नगरपालिकाले सुरक्षित बसोबासको व्यवस्था गरेको जनाएको छ।
प्रहरीका अनुसार कोशीटप्पु क्षेत्रबाट आएको हात्तीको समूह हाल लामाचौर र ४५ चोक आसपासको जङ्गलमा रहेको छ। सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस