Techie IT
२०८३ असार २६, शुक्रबार

प्रहरीले लखेट्दा पोखरीमा डुबेका किशोरको शव भेटिएपछि विराटनगर तनावग्रस्त


गाँजा बोकेको भन्दै प्रहरीले लखेट्ने क्रममा पोखरीमा हामफालेका एक किशोरको शव तीन दिनपछि फेला परेपछि विराटनगरमा तीव्र तनाव उत्पन्न भएको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष श्रेष्ठका अनुसार गत बुधबारदेखि बेपत्ता भएका यादवको शव शुक्रबार बिहान करिब साढे १० बजे पोखरीको बीच भागमा फेला परेको थियो । शव भेटिएलगत्तै आक्रोशित बनेका स्थानीय र मृतकका आफन्तले प्रहरी टोलीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

घटनास्थलमा ढुङ्गामुढा र लाठीचार्ज
शवलाई पोस्टमार्टमका लागि लैजाने क्रममा स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई नै लक्षित गरी ढुङ्गामुढा गरेका थिए । प्रहरीमाथि आक्रमण गरेको आरोपमा मृतकका आफन्त पर्ने एक युवकलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले मृतक मञ्जितको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याए पनि आफन्त र स्थानीयले शव उठाउन र प्रक्रिया अगाडि बढाउन लामो समय अवरोध सिर्जना गरेका थिए । आन्दोलनमा उत्रिएका स्थानीयले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि तत्काल कारबाही गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै सडक समेत अवरुद्ध गरेर नाराबाजी गरेका थिए ।

के थियो घटनाको पृष्ठभूमि?
प्रहरीको दाबीअनुसार गत बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्न खोजेको थियो । तर, प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा मोटरसाइकल चालक मञ्जितकुमार यादव सवारीसाधन छाडेर नजिकैको पोखरीमा हामफालेका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए ।

उक्त घटनामा मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले ६ किलो १३० ग्राम गाँजासहित घटनास्थलबाटै पक्राउ गरेको थियो । बेपत्ता किशोरको खोजीका लागि बुधबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी अभियान चलाएका थिए । तर, शुक्रबार शव भेटिएसँगै प्रहरीको कार्यशैलीलाई लिएर स्थानीय समुदाय आक्रोशित बनेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट