Techie IT
२०८२ असोज २८, मंगलबार

मेयर बालेन्द्र शाह र सुदन गुरुङविरुद्ध काभ्रेमा जाहेरी


गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध काभ्रेमा पनि जाहेरी परेको छ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेका उपाध्यक्ष सुजन सापकोटा र आयुष बडालले जिल्ला प्रहरी कार्यालय काभ्रेमामा जाहेरी दिएका हुन्। उनीहरूले मुलुकी अपराध संहिता २०७४ को दफा १७७, १७८, २४४ र २८५ (आपराधिक उपद्रव) अन्तर्गत कारबाही माग गरेका छन्।

जाहेरीमा बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङकै निर्देशनमा बनेपा नगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, नेकपा एमाले काभ्रेको कार्यालय, नेपाली कांग्रेस काभ्रेको कार्यालय, पनौतीका पूर्व नगर प्रमुख भीम न्यौपानेको घर, धुलिखेलका नगर प्रमुख अशोक व्यान्जुको घर, पनौतीकी उपप्रमुख गीता बन्जाराको घर, व्यवसायी रामेश्वर थापाको घर, कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको घर र गाडी, पनौती नगर प्रमुख रामशरण भण्डारीको घरमा तोडफोड र आगजनी भएको उल्लेख छ।

जाहेरीअनुसार राष्ट्रिय सम्पदा, भवन, संरचना तथा सरकारी कार्यालयका सामान र कागजातहरू लुटपाट गरी नष्ट गरिएको छ। यसका लागि विभिन्न मानिसहरूलाई उक्साइ कानुन विपरीत कार्य गराएको आरोप पनि छ।

मेयर शाहले केही महिना अघि फेसबुकमा सिंहदरबारमा आगो लगाउने आशयसहितको टिप्पणी गरेको उल्लेख गरिएको छ। सोही क्रममा आन्दोलनको नाममा आगजनी गर्दा ऐतिहासिक भवन संरचनामा क्षति पुगेको र त्यहाँ रहेको चल-अचल सम्पत्ति चोरी तथा नष्ट भएको जाहेरीमा भनिएको छ।

त्यस्तै, सुदन गुरुङमाथि पनि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आगो लगाउन उक्साएको, भीडलाई समेटेर आपराधिक उपद्रव गरेको र प्रहरी कर्मचारी तथा केही विद्यार्थीमाथि आक्रमण गरेको आरोपमा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार भदौ २३–२४ गतेको घटनाको छानबिनका लागि आयोग बनेको र उक्त जाहेरी आयोगमा पठाइनेछ।

यसअघि पनि उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट