मोदीलाई राहुल गान्धीको खुला चुनौती - "सक्छौ भने सबैलाई गिरफ्तार गर, हामी पछि हट्दैनौँ"
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भइरहेको देशव्यापी विरोध प्रदर्शनबीच लोकसभाका विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरेर देखाउन खुला चुनौती दिएका छन्। शनिबार सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत गान्धीले संविधानको रक्षा र भारतीय जनताको आवाजका लागि विपक्षी पछि नहट्ने र सङ्घर्ष जारी राख्ने स्पष्ट पारेका हुन्।
आफू एक दशकभन्दा बढी समयदेखि प्रधानमन्त्री मोदी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) विरुद्ध लडिरहेको उल्लेख गर्दै गान्धीले उनीहरूलाई गहिरोसँग बुझेको दाबी गरेका छन् । यी मानिसहरूको मुख्य विशेषता नै कायरता हो। नरेन्द्र मोदी, अमित शाह, मोहन भागवत, ज्ञानेश कुमार र अजित डोभालले आफ्नो वरिपरिको घेरा साँघुरिँदै गएको महसुस गरिरहेका छन् । उनले लेखेका छन्, “मोदीजी, १० हजार, २० हजार वा ५० हजार जति प्रहरी बोलाउनुहुन्छ बोलाउनुहोस्, सबै नेता र युवाहरूलाई पक्राउ गर्नुहोस्, तर यो आन्दोलन रोकिने छैन।”
विपक्षीसँग आवश्यक सबै प्रमाण र तथ्याङ्क रहेको दाबी गर्दै उनले विगत १०-१५ वर्षमा भारतको लोकतन्त्रमाथि भएको खेलबाडलाई फेरि दोहोरिन नदिने प्रतिबद्धता जनाए। प्रदर्शनकारी युवाहरूप्रति ऐक्यबद्धता जनाउँदै उनले भनेका छन्, “भारतका युवाहरू, मलाई तिमीहरूमाथि गर्व छ। आन्दोलन जारी राख, हामी तिमीहरूकै साथमा छौँ। संविधानमाथि आक्रमण गर्नेहरूलाई हामी पराजित गरेरै छाड्नेछौँ।”
यसैबीच, मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जन्तरमन्तरतर्फ अघि बढेका १ हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। राजधानी दिल्लीभर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस