पूर्वसभामुख महराविरुद्धको मुद्दामा जिल्ला अदालतमा बयान सुरु

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबारदेखि उनको बयान प्रक्रिया प्रारम्भ भएको हो।
सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको माग दाबी गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट उनलाई पक्राउ गरेको थियो। २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा संलग्नताका आधारमा महरालाई पूरक अभियोगमा प्रतिवादी बनाइएको हो।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई उक्त प्रकरणमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउने सिफारिस गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस