फरार सूचीमा रहेका सुनार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित
फरार सूचीमा रहेका खगेन्द्र सुनार बिहीबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन्। सुनारमाथि अदालतको अपहेलना गर्ने र अधिवक्तालाई अपशब्द प्रयोग गर्ने आरोप छ। जिल्ला अदालत काभ्रेपलाञ्चोककी श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार, सुनारको बयान लिइसकेपछि थुनछेकको बहस हुनेछ।
सुनारमाथि अधिवक्ता मनीषा गौतमविरुद्ध फेसबुक स्टाटसमा अपशब्द प्रयोग गर्ने र सामाजिक सञ्जालमा लाइभमा गालीगलोज गर्ने आरोप पनि छ। गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले साइबर ब्यूरोले मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो।
सुनार फरार रहँदा प्रहरीले गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो। अदालतमा दर्ता भएको मुद्दा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रूपमा दर्ता (८२ सी१–००२) गरिएको थियो। सुनारको स्थायी ठेगाना भएको दैलेखमा पक्राउ पुर्जी जारी गरिएको थियो।
अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरिएको थियो। फरार रहेकाले समयसीमाभित्र पक्राउ गर्न नसकेपछि सुनार अदालतमा उपस्थित भएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस