Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

‘टीओबी’ टिसर्ट लगाएर आतंक मच्चाउने बुलेट चालक प्रहरी अनुसन्धानमा


जेनजी प्रदर्शनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर आतंक मच्चाउने बुलेट मोटरसाइकल चालकहरूलाई प्रहरीले सोधपुछ गरेको छ।

भदौ २३ र २४ मा मोटरसाइकल हुइँक्याएर उच्छृङ्खल गतिविधि गर्ने १९ जना चालकको पहिचान गरी उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।

टीओबी समूहका कमान्डर तेन्जिङ दावा लामालाई प्रहरीसमेतले असोज २६ मा पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनका निर्देशनमा अन्य चालकहरू प्रदर्शनका दिन मोटरसाइकल घुमाउने र आतंक मच्चाउने कार्यमा सहभागी भएको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, “दावाले परिचालन गरेअनुसार अरू चालकहरू सक्रिय देखिएका छन्।” तेन्जिङविरुद्ध प्रारम्भमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयले उनलाई ७ हजार ५ सय रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

तर, पछिल्लो अनुसन्धानमा उनका विरुद्ध लागुऔषध र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरेन्सिक परीक्षणमा उनको घरबाट बरामद पेस्तोल नक्कली रहेको पुष्टि भएको छ।

तेन्जिङको नागरिकता र जन्मदर्ता दुवै शंकास्पद देखिएको प्रहरीले जनाएको छ। उनले २०७९ असार २४ मा लिएको भनिएको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौँको ढड्डामा भेटिएको छैन। डिजिटल रेकर्डमा नाम देखिए पनि ढड्डामा विवरण नभेटिएको अधिकारीहरूले बताएका छन्।

उनको जन्मदर्ता २०६३ चैत १० मा बौद्ध, काठमाडौं–६ मा गरिएको देखिए पनि उक्त मिति शनिबार परेको हुँदा प्रमाणिकता शंकास्पद रहेको बताइएको छ। वडाबाट नागरिकताको सिफारिस लिएको रेकर्ड पनि फेला परेको छैन। नागरिकतामा उल्लेख बुबा कृष्णबहादुर तामाङलाई प्रहरीले सोधपुछ गर्दा उनले “सनाखत गरेको थाहा छैन” भनेर अस्वीकार गरेका छन्।

तेन्जिङले सोही नागरिकताको आधारमा पासपोर्ट पनि लिएको खुलेको छ, र यससम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तेन्जिङको बैंक खाता विवरण नेपाल राष्ट्र बैंकसँग मागिएको छ। प्रहरीले उनीहरूले मोटरसाइकल चालकहरू परिचालन गर्न पाएको फन्डिङ स्रोत पत्ता लगाउने प्रयास गरिरहेको बताएको छ।

अनुसन्धानका क्रममा तेन्जिङले प्रहरीलाई तीनवटा फुटेका मोबाइल फोन बुझाएका छन्। मोबाइल बिग्रिएको कारण अनुसन्धानकर्ताले त्यसको डेटा प्राप्त गर्न नसकेको बताएका छन्। उनको डेरा खानतलासी गर्दा प्रहरीले गाँजा समेत बरामद गरेको थियो। उनलाई ९० दिन हिरासतमा राखी अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।

तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ का दिन काठमाडौंको बिजुलीबजारस्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुटेजमा देखिएका छन्। उनीहरूका ज्याकेटमा लेखिएको ‘टीओबी (Tibetan Original Blood)’ लेखाइबाट उनीहरूको समूह परिचित रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट