नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्कीको मातहत आएको हो।
खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पद, अर्थात् आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
२४ भदौमा ‘जेनजी आन्दोलन’का बेला कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि, २३ भदौमा उपत्यकाको कमाण्ड एआईजीविहीन अवस्थामा थियो। उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत तथा साधन विभागका प्रमुख थिए।
डीआईजी हुँदा कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा उनले भुटानी शरणार्थी प्रकरणमा देखाएको भूमिकाका कारण ध्यान खिचेका थिए।
काठमाडौंजस्तो चुनौतीपूर्ण जिल्लादेखि उपत्यकाको नेतृत्व गरेका कार्की इमानदार र निष्ठावान् प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। कुनै ठूलो आर्थिक विवादमा नफसेका कार्कीसँग फिल्ड तहदेखि आईजीपी सचिवालयसम्म काम गर्ने व्यापक अनुभव रहेको छ।
विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस