अनलाइन ठगी बढेपछि प्रहरीको सात बुँदे सचेतना सूचना जारी
हालै अनलाइनमार्फत ठगीका घटना तीव्र रूपमा बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सात बुँदे सचेतना अनुरोध सार्वजनिक गरेको छ। प्रहरी परिसरले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिने विभिन्न किसिमका ठगी गतिविधिबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको हो।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार दैनिकजसो नागरिक प्रलोभनमा परेर ठगीमा पर्ने घटना दर्ता भइरहेको भन्दै आवश्यक सतर्कता अपनाउन सूचना निकालिएको हो। उनका अनुसार फेसबुक, इमो, ह्वाट्सऐप, भाइबर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट “चिट्ठा परेको छ, रकम लिन केही राजस्व तिर्नुपर्छ” भन्दै ठगी गर्नेलाई सचेत गराइएको छ।
सूचनामा अनलाइन मार्फत सामान खरिद गर्दा आधिकारिक बिक्रेता प्रमाणित गरेर मात्रै भुक्तानी गर्न, नगद दिने बेलामा पनि विशेष सावधानी अपनाउन जनाइएको छ। प्रवक्ता भट्टराईले भने, “अपरिचित नम्बरबाट भिडियो कल गरी रेकर्ड बनाएर अश्लील रूपमा प्रयोग गरी ब्ल्याकमेल गर्ने घटना बढेकाले सतर्क रहन आवश्यक छ।”
त्यस्तै सामाजिक सञ्जालमार्फत साथीभाइ वा आफन्तको नाममा आर्थिक सहयोग मागिएको खण्डमा उक्त खाता ‘ह्याक’ हुनसक्ने भएकाले प्रत्यक्ष सम्पर्क गरेर मात्र यकिन गर्न सुझाव दिइएको छ।
सामाजिक सञ्जालमा सस्तो दर देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई गरिने ठगीसम्बन्धी जोखिमबारे पनि प्रहरीको सूचनामा जनाइएको छ।
साथै, अपरिचित लिङ्क नखोल्न, ओटीपी कोड अरूलाई नदिन, मोबाइलको स्क्रिन शेयर नगर्न, सामाजिक सञ्जालमा संवेदनशील जानकारी नराख्न र पासवर्ड तथा निजी विवरण कसैसँग पनि साझा नगर्न प्रहरीले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस