अभिनेत्री राखी सावन्तविरुद्ध पक्राउ पुर्जी जारी
विवादित अभिव्यक्तिका कारण निरन्तर चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त गम्भीर कानुनी सङ्कटमा परेकी छन्। करिब १६ वर्ष पुरानो एक टीभी शोका सहभागीको आत्महत्या दुरुत्साहन मुद्दासँग जोडिएर भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले उनीविरुद्ध गैर-जमानती पक्राउ पुर्जी (Non-Bailable Warrant) जारी गरेको छ।
अदालतले पटक-पटक समन (पुर्जी) जारी गर्दा पनि उपस्थित नभएपछि उनीविरुद्ध यो कडा कानुनी कदम चालिएको हो।
के थियो १६ वर्ष पुरानो विवाद?
सन् २०१० मा प्रसारित चर्चित टेलिभिजन रियालिटी शो ‘राखी का इन्साफ’ मा झाँसीका स्थानीय तरकारी व्यापारी लक्ष्मणप्रसाद अहिरवार सहभागी भएका थिए। फेब्रुअरी २०१० मा विवाह गरेका लक्ष्मणको पारिवारिक विवाद सुल्झाउने बहानामा शोमा बोलाइएको थियो। तर, समस्या समाधान हुनुको साटो कार्यक्रम सञ्चालिका राखी सावन्तले लक्ष्मणलाई सार्वजनिक रूपमै ‘नामर्द’ भन्दै गम्भीर अपमान गरेकी थिइन्।
सार्वजनिक बेइज्जतीका कारण गहिरो मानसिक तनाव (ट्रमा) मा परेका लक्ष्मणले घरबाहिर निस्कन र समाजको सामना गर्न छाडेका थिए। परिवारका अनुसार "राखीले मेरो जिन्दगी बर्बाद पारिदिइन्" भन्दै विक्षिप्त बनेका लक्ष्मणको मानसिक तनावकै कारण स्वास्थ्य अवस्था बिग्रिएर केही समयपछि मृत्यु भएको थियो।
अदालतसम्म कसरी पुग्यो मामला?
छोराको मृत्युपछि लक्ष्मणकी आमा सावित्रीले राखी सावन्तविरुद्ध आत्महत्या दुरुत्साहन र सार्वजनिक बेइज्जतीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। सोही मुद्दाको निरन्तर सुनुवाइका क्रममा अदालतले राखीलाई हाजिर हुन बारम्बार आदेश दिएको थियो। तर, अदालतको आदेशलाई निरन्तर बेवास्ता गरेपछि झाँसी अदालतले उनीविरुद्ध गैर-जमानती पक्राउ पुर्जी जारी गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस