Techie IT
२०८२ पौष २, बुधबार

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले मंगलबार मुनकर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पदमा रहँदा २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

उनका अनुसार अख्तियारले मुनकर्मीले सरकारी सेवामा प्रवेश गरेको २०५४ सालदेखि २०८० सालसम्मको अवधिमा आर्जन गरेको सम्पत्तिको छानबिन गरेको थियो।

छानबिनका क्रममा मुनकर्मी र उनको परिवारको वैध आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिएको भए पनि कुल खर्च ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ पुगेको अख्तियारको दाबी छ। वैध आयभन्दा बढी भएको २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँको स्रोत नखुलेको भन्दै उक्त रकमलाई गैरकानुनी सम्पत्ति ठहर गरिएको हो।

अख्तियारले मुनकर्मीलाई गैरकानुनी आर्जन बराबरकै बिगो असुलउपर गरी जरिवाना गर्न तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय माग गरेको छ।

आयोगका अनुसार मुनकर्मीले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको, वैधानिक आयको तुलनामा अत्यधिक जीवनस्तर यापन गरेको तथा सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा खरिद गरेको पुष्टि भएको छ।

साथै वार्षिक रूपमा पेस गर्नुपर्ने सम्पत्ति विवरण फारममा झुटा विवरण पेस गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा १६(२) अनुसार १ देखि ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ।

मुनकर्मीसँगै उनकी श्रीमती पूर्णकेशवरी गोसाईंविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट