Techie IT
२०८२ पौष ४, शुक्रबार

सुन पसल लुट्न गोली चलाउने फरार कैदी पक्राउ


दाङको लमही नगरपालिका-५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा दिनदहाडै लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति लागूऔषध मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार कैदी भएको खुलेको छ।

पक्राउ परेका व्यक्ति बंगलाचुली गाउँपालिका-४ काभ्रे गाउँ निवासी ३३ वर्षीय किरण भनिने लेखराज केसी हुन्। उनी भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा तुलसीपुरस्थित कारागारमा उत्पन्न असहज परिस्थितिको फाइदा उठाउँदै फरार भएका थिए।

प्रहरीका अनुसार लेखराज केसी गत मंसिर २० गते दिउँसो करिब साढे १ बजे रा १ प २६४९ नम्बरको मोटरसाइकलमा सुन पसल पुगेका थिए। उनले पसलका सञ्चालक सुमन सुनारलाई फोन गरी शनिबार भए पनि सुनका गरगहना किन्न आउने जानकारी गराएका थिए।

सुनार जिल्ला बाहिर रहेकाले पसल खोल्न कर्मचारी प्युठान नगरपालिका-५ निवासी १८ वर्षीय दिपक सुनारलाई पठाएका थिए। पसल खोलेर काउन्टरमा सुनका गरगहना देखाउने क्रममा लेखराजले एकाएक सबै सुन आफूलाई दिन धम्की दिए। दिपकले नमानेपछि लेखराजले पेस्तोल निकालेर उनीतर्फ गोली प्रहार गरेको आरोप छ।

काउन्टर बाहिरबाट चलाइएको गोली काउन्टरको सिसा फुटाउँदै दिपकको चिउडो नजिक घाँटीको मासु छेडेर निस्किएको थियो। गोली लाग्दा गम्भीर चोट नलागेकाले दिपक जोगिएका थिए। गोली चलेपछि लेखराज मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।

घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल वरपरबाट स्वचालित पेस्तोलबाट फायर गरिएको एक थान खोका, कालो रङको झोला र हेल्मेट फेला परेको प्रहरीले जनाएको छ।

२४ किलोमिटर टाढा घोराहीस्थित जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठ पनि घटनास्थल पुगेर अनुसन्धानमा संलग्न भएका थिए। अभियुक्तको खोजीका लागि विभिन्न स्थानमा चेकपोस्ट राख्नुका साथै सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको थियो।

मोबाइल सिम र योजना खुलासा
अनुसन्धानका क्रममा फोन नम्बरको डिटेल अध्ययन गर्दा घटना भएको दिन बिहान घोराही क्षेत्र र दिउँसो लमही बजार आसपास लोकेसन देखिएको थियो। लेखराजले घटना लगत्तै प्रयोग गरेको सिमकार्ड बन्द गरेका थिए।

प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहको नेतृत्वमा खटिएको टोलीले उक्त सिमकार्ड प्युठान मल्लारानी गाउँपालिका-२ स्थायी घर भएका ३७ वर्षीय एक व्यक्तिको नाममा दर्ता भएको पत्ता लगाएको छ। सो सिमकार्ड लमही बजारस्थित युनिक मोबाइल रिपेयरिङ सेन्टरबाट एकै पटक तीनवटा निकालिएको खुलेको छ।

अर्को सिमकार्ड घोराही-१ रामपुर नजिक थर्मकोट गाउँका सेमबहादुर बुढाको नाममा दर्ता भए पनि प्रयोगकर्ता लेखराज नै भएको निष्कर्षमा प्रहरी पुगेको छ।

अनुसन्धानबाट लेखराजले मंसिर १९ गते भान्जा नाता पर्ने बंगलाचुली-४ निवासी २७ वर्षीय सुमन हौजाली मगरलाई फोन गरी लमही बजारबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुन लुट्ने योजना सुनाएको खुलेको छ। आफूसँग पेस्तोल र ६ राउण्ड गोली रहेको भन्दै डर देखाएर लुट्ने योजना उनले बनाएको प्रहरीले जनाएको छ। तर हतियारको कुरा सुनेपछि मगर सो योजनामा संलग्न नभएको खुलेको छ।

होटलमा बसेर बनाए योजना 
प्रहरीका अनुसार लेखराज सुन पसलमा गोली चलाउनु भन्दा करिब १५ दिनअघि लमही बजारस्थित ‘दौंतरी होटल एण्ड लज’ मा बसेका थिए। सो होटलका सञ्चालकका छोरा नै सुमन हौजाली मगर हुन्। होटलमै बस्दै उनले लुटपाटको योजना बुनेको प्रहरीको भनाइ छ।

मंसिर १५ गते होटलमै काम गर्ने १६ वर्षीय प्रेम चौधरीले सिरानीमुनि लुकाइराखिएको पेस्तोल र ६ राउण्ड गोली देखेपछि लेखराजले कसैलाई भने ज्यान मार्ने धम्की दिएको पनि अनुसन्धानबाट खुलेको छ।

गोली लागेर घाइते भएका दिपक सुनार मंसिर २१ गते अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका लेखराज केसीलाई आइतबार बेलुकी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

यसैबीच, मंसिर २७ गते लमहीको रातोडाँडास्थित ‘रोयल प्यालेस होटल’ मा पेस्तोल पड्किँदा १८ वर्षीय सिसम गौतम सामान्य घाइते भएका थिए। होटलको कोठाको एसीमाथि राखिएको पेस्तोल रुम सफा गर्ने क्रममा चल्दा गोली पड्किएको प्रहरीले जनाएको छ।
उक्त पेस्तोल कसले राखेको हो भन्ने विषयमा पाहुनाको विवरण खोतल्दै अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। हालसम्म सुन पसलमा गोली चलाउने व्यक्ति र होटलमा फेला परेको हतियार एउटै व्यक्तिको भएको पुष्टि भने भइसकेको छैन। पक्राउ परेका लेखराज केसीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट