प्रभु बैंकका सीईओ शेरचन हाजिरी जमानीमा रिहा
गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरी हिरासतमा लिएका शेरचन देवी भट्टचन र कुसुम लामाबीचको विवादसँग जोडिएको घटनाका कारण अनुसन्धानको दायरामा परेका थिए।
शेरचनसहित प्रभु बैंकका अन्य पदाधिकारी तथा कर्मचारीलाई विशेष सरकारी वकिलको कार्यालयको निर्णयअनुसार हाजिरी जमानीमा छाडिएको हो। यसअघि उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले पाँच दिनभित्र बयान सक्ने शर्तमा अन्तिम पटकका लागि म्याद थपको अधिकार सरकारी वकिललाई दिएको थियो।
यसअघि देवी भट्टचन पनि उच्च सरकारी वकिल कार्यालयको निर्णयबाटै रिहा भइसकेकी थिइन्। सोही प्रक्रिया अनुसार आवश्यक कागजपत्र पूरा गरी शेरचनसँगै मणिराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यलाई पनि सीआईबीले रिहा गर्ने भएको हो।
उनीहरू सबैलाई ठगी तथा बैंकिङ कसूरको अभियोगमा पक्राउ गरिएको थियो। सीआईबीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनसम्बन्धी अनुसन्धानका क्रममा संकलित प्रमाण र विज्ञ टोलीको विश्लेषणले बैंकका शीर्ष नेतृत्वको संलग्नता देखाएको थियो।
अनुसन्धानबाट उनीहरूले राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको, बैंकलाई नोक्सान हुने गरी करोडौँ रुपैयाँ विभिन्न कम्पनीमार्फत दुरुपयोग गरेको तथ्य फेला परेको सीआईबीको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस