पेस्तोलसहित सीमाबाट भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरी बल, नेपालले सुनसरीको सीमा नाकाबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्रका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार इटालीमा बनेको पेस्तोल र सोको तीन राउन्ड गोलीसहित ३६ वर्षीय राम थेलन पासवान पक्राउ परेका हुन्। भारतको अररिया ग्राम पञ्चायत–४ निवासी उनलाई सुनसरी गाउँपालिका–३ जमुवा स्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेसले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १०० ग्राम पदार्थ, ७ हजार ५ रुपैयाँ नगद, ९ हजार ३८० भारतीय रुपैयाँ र मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले जानकारी दिए।
यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनीका डीआईजी मनिष थापाले निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमानाकाको स्थलगत अनुगमन गर्दै उनले सीमाबाट हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न मातहतका सबै युनिटलाई निर्देशन दिएका छन्।
सीमा जाँचमा तीव्रता दिइएका क्रममा हतियारसहित व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस