सम्भव सिरोहियाको घरमा लुटपाट गर्ने पाँच जनाविरुद्ध मुद्दा दर्ता
कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको घरमा भएको तोडफोड तथा लुटपाट घटनामा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले माघ २९ गते जिल्ला अदालत काठमाडौंमा आपराधिक उपद्रव तथा चोरीसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका आरोपितहरूमा काठमाडौं महानगरपालिका-४ बासबारीका ३५ वर्षीय सुजन डंगोल, काठमाडौं महानगरपालिका-३ का ३५ वर्षीय विवेक थापा, धादिङ ज्वालामुखी गाउँपालिका-१ का ३३ वर्षीय गोपाल थापा, गोरखा नगरपालिका-६ का २५ वर्षीय रोजिस घिमिरे र धनकुटा महालक्ष्मी नगरपालिका-३ का ३० वर्षीय प्रज्वल रोगू रहेका छन्।
भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा काठमाडौं महानगरपालिका-४ मण्डिखाटारस्थित सिरोहियाको घरमा तोडफोड तथा लुटपाट भएको थियो। सिरोहियाले धातु, गरगहना चोरी तथा घर र सवारीसाधनमा भएको तोडफोडबाट १४ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
जाहेरीका आधारमा प्रहरीले माघ ४ गते काठमाडौंका विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूको साथबाट लुटिएको चाँदीका सिक्का र अन्य गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीसमक्षको बयानमा उनीहरूले आरोप स्वीकार गरेका थिए।
१८ किलो चाँदी प्रहरीलाई फिर्ता
बयानका क्रममा आरोपितहरूले भदौ २४ गते राति करिब १० बजेतिर उक्त घर तोडफोड भएको अवस्थामा देखेपछि प्रवेश गरेको बताएका छन्। घर सम्भव सिरोहियाको भएको कुरा आफूहरूलाई पछि मात्रै थाहा भएको दाबी उनीहरूको छ।
उनीहरूका अनुसार विवेक र प्रज्वल घरभित्र छिरेका थिए भने अन्य बाहिर बसेका थिए। घरभित्रबाट बोराभित्र रहेको टिनको बक्सा लगेर खाली जग्गामा खोली हेर्दा ‘कान्तिपुर’ लेखिएको चाँदीजस्तो देखिने सिक्का, क्यामेरा तथा अन्य गरगहना भेटिएको बयानमा उल्लेख छ।
उक्त बक्सा विवेककै डेरामा राखिएको र पछि चक्रपथ युवा क्लबका अध्यक्ष विकास गुरूङमार्फत १८ किलो चाँदीका सिक्का महाराजगञ्ज प्रहरी वृत्तमा बुझाइएको उनीहरूले बताएका छन्।
प्रहरीले प्रारम्भिक रूपमा सुजन डंगोलको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीको सिक्का बरामद गरेपछि उनलाई पक्राउ गरेको थियो। त्यसपछि सोधपुछका क्रममा अन्य चार जनालाई पनि पक्राउ गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले आरोपितहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २५८ (३) (घ) बमोजिम सजायको माग गरेको छ। साथै, फिर्ता गरिएको १८ किलो चाँदीको मूल्य घटाएर बाँकी १४ करोड २५ लाख ५८ हजार १५७ रुपैयाँ बराबरको क्षतिपूर्ति पीडितलाई दिलाउन मागदाबी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस