निर्वाचनमा सुरक्षा कडाइ: ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, भयरहित र व्यवस्थित बनाउन नेपाल प्रहरीले देशभर थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी खटाइने तयारी गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार करिब १३ हजार प्रहरीलाई ‘थप मद्दत’ का रूपमा जिल्लाहरूमा पठाइँदैछ। पहिलो चरणमा ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टर फिल्डमा खटिसकेका छन्। अब थप १०० डीएसपी र ४०० इन्स्पेक्टर परिचालन गर्ने योजना बनाइएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले पहिलो चरणमा खटिएका अधिकृतहरू फिल्डमा पुगिसकेको जानकारी दिएका छन्। उनका अनुसार उपत्यका प्रहरी कार्यालय मातहतका गण, गुल्म तथा प्रहरी प्रधान कार्यालयबाट थप अधिकृतहरू पठाइने छन्।
मधेस र तराई उच्च जोखिम सूचीमा
निर्वाचन सुरक्षाको दृष्टिले मधेस र तराईका जिल्लालाई चुनौतीपूर्ण मानिएको छ। झापादेखि कैलालीसम्मका तराई क्षेत्र विशेष निगरानीमा रहने प्रहरीले जनाएको छ।
मधेस प्रदेश मा सबैभन्दा धेरै अति संवेदनशील मतदानस्थल रहेका छन्। मधेसका ८ जिल्लाका १,२४६ मतदानस्थल अति संवेदनशील सूचीमा छन्। त्यस्तै:
लुम्बिनी प्रदेश - ४६२
सुदूरपश्चिम प्रदेश - ४८१
कोशी प्रदेश - ४३९
बागमती प्रदेश - ३५४
गण्डकी प्रदेश - ३२८
कर्णाली प्रदेश - ३५८
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा ७३ हजार नेपाल प्रहरी खटिने छन्। साथै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ। सशस्त्र प्रहरी बल, नेपाल का १५ हजार ११० जना निर्वाचन प्रहरी तथा ३१ हजार सशस्त्र प्रहरी दोस्रो घेरामा रहनेछन्।
त्यसैगरी, नेपाली सेनाका ७९ हजार सुरक्षाकर्मी तेस्रो घेरामा परिचालित हुनेछन्। सूचना सङ्कलनको जिम्मेवारीसहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी पनि खटिनेछन्।
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षामा निर्वाचन प्रहरीसहित कुल ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्।
प्रत्येक पालिकामा दुई इन्स्पेक्टर, महानगरमा चार
निर्वाचन सुरक्षालाई थप चुस्त बनाउन प्रत्येक पालिकामा दुई जना इन्स्पेक्टर खटाइनेछन्। उनीहरूलाई डीएसपीको कमाण्डमा रहने रिजर्भ टोलीले आवश्यक सहयोग गर्नेछ। रिजर्भ टोलीले दुई-तीन वटा गाउँपालिका तथा जिल्ला तहमा आवश्यकताअनुसार सहयोग गर्ने व्यवस्था मिलाइएको छ।
उपमहानगरपालिकामा तीन जना र प्रत्येक महानगरपालिकामा चार जना इन्स्पेक्टर परिचालन गरिने योजना छ। केन्द्रबाट जाने प्रहरी कर्मचारीलाई फागुन १० गतेभित्र सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसक्ने तयारी गरिएको छ।
कर्णाली प्रदेशबाट तल्लो दर्जाका प्रहरीलाई अन्य प्रदेशमा परिचालन गरिनेछ भने त्यहाँ वरिष्ठ अधिकृतहरू थपिनेछन्। कालिकोट, बझाङ, बजुरा र दार्चुला जिल्लामा निर्वाचन सुरक्षाको कमाण्ड एसपीले गर्ने तयारी छ।
अति संवेदनशील मतदानस्थलमा कम्तीमा तीन जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटिनेछन्। मतदान केन्द्र थपिएमा दुई जना नेपाल प्रहरी र चार जना निर्वाचन प्रहरी थप गरिने व्यवस्था गरिएको छ।
प्रतिनिधि सभातर्फ २७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट सांसद चयन हुने यस निर्वाचनमा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको प्रहरी स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस