नयाँ प्रधानन्यायाधीशको दौड सुरु: ६ न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस
न्याय परिषदले प्रधानन्यायाधीश पदका लागि योग्यता पुगेका ६ जना सर्वोच्च अदालतका न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ।
हालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनको अवकाश नजिकिँदै जाँदा नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले सिफारिस प्रक्रिया अघि बढाएको हो।
सिफारिस वरिष्ठताका आधारमा गरिएको परिषदले जनाएको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ को नाम सिफारिस गरिएको न्याय परिषदका प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बन्न सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशका रूपमा काम गरेको हुनुपर्छ। सोही आधारमा तीन वर्ष अवधि पूरा गरेका न्यायाधीशहरूको रोष्टर तयार गरी नाम सिफारिस गरिएको परिषदले जनाएको छ।
कानुनी व्यवस्थाअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस