सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको छ।
उनीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो। हाल उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
यसअघि सोही मुद्दामा पक्राउ परेका व्यवसायी दिपक भट्टसँगको आर्थिक कारोबारमा जोडिएको देखिएपछि अग्रवाललाई अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषय नेपाल राष्ट्र बैंकको वित्तीय सूचना इकाईले पत्ता लगाएको थियो। त्यसपछि राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरी थप अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानकै क्रममा विभागले आन्तरिक राजस्व विभागसँग विभिन्न कम्पनीबीचको कारोबार विवरण माग गरेको थियो। विशेषगरी जगदम्बा स्टिल, हिमालयन रि, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालबीचको आर्थिक लेनदेनको सम्बन्धबारे छानबिन भइरहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस