वीरगन्जमा प्रहरी जवानको कुटपिट गरी हत्या
पर्साको वीरगन्जमा आइतबार दिउँसो एक प्रहरी जवानको समूहगत कुटपिटबाट बीभत्स हत्या भएको छ। वीरगन्ज महानगरपालिका–९ मा भएको उक्त घटनामा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया मारिएका हुन्।
घटना सार्वजनिक भएलगत्तै पर्सा प्रहरीले सक्रियता देखाउँदै हत्यामा संलग्न रहेको आरोपमा चार जना युवालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवाहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरिरहेको सूचना प्राप्त भएको थियो।
सूचना पाउनासाथ केही मिनेटमै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरी तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलबाटै चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको नाम र ठेगाना भने अनुसन्धानमा असर पर्न सक्ने भन्दै सार्वजनिक गरिएको छैन। घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार हत्याको कारण प्रेम सम्बन्धसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ। मृतकको एक महिलासँग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भई योजनाबद्ध रूपमा कुटपिट गरेर हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि, घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस