प्रधानमन्त्री शाहलाई म्यासेज गरेको भन्दै सचिव कृष्णहरिलाई प्रहरीद्वारा पक्राउ
उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेपछि रिहा गरेको छ।
स्रोतका अनुसार बिहीबार साँझ टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर पुष्करसँग सोधपुछ गरिएको थियो। उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाइएको र स्वास्थ्य परीक्षणका लागि लैजाने तयारी गरिएको थियो।
अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार साँझ करिब ९ बजेतिर पुष्करलाई स्वास्थ्य परीक्षणका लागि भन्दै कार्यालय बाहिर लगिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाउने तयारीसमेत भएको थियो। सामान्यतः उपत्यका अपराध अनुसन्धान कार्यालयबाट मुद्दा नचल्ने भएकाले पक्राउ परेका व्यक्तिलाई थप कारबाहीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पठाइने गरिन्छ।
तर, अन्तिम समयमा ‘माथिको आदेश’ आएको भन्दै परिस्थिति फेरिएको स्रोतको दाबी छ। त्यसपछि पुष्करलाई पुनः अनुसन्धान कार्यालयमै फर्काएर एसपी शरद थापाको कार्यकक्षमा लगिएको थियो। त्यहाँ जिम्मा–जमानीको कागज गराई उनकी पत्नी आभा श्रेष्ठको जिम्मा लगाएर राति करिब १० बजे रिहा गरिएको बताइएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार पुष्करलाई दिउँसो करिब ३ बजे कार्यालयमा ल्याइएको थियो र राति १० बजेतिर परिवारको जिम्मा लगाएर छाडिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनीमाथि प्रशासनिक ‘चेन अफ कमान्ड’ उल्लङ्घन गर्दै व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष सन्देश पठाएको आरोप लगाइएको छ।
सचिव पुष्कर हालै मुख्यसचिव नियुक्तिको प्रतिस्पर्धामा रहेका उच्च अधिकारीमध्ये एक थिए। तर सरकारले २०८२ मंसिर ९ गते सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो।
घटनाबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन भने यस विषयले प्रशासनिक वृत्तमा व्यापक चर्चा पाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस