Techie IT
२०८३ असार १, सोमबार

अनमी धामीको हत्या भएको आशंका, दोषीलाई कारबाही गरियोस् - प्रमुख सचेतक महर


अनमी (अहेव) अनिशा धामी

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले खोटाङमा कार्यरत २३ वर्षीया अनमी (अहेव) अनिशा धामी आफ्नै डेरामा शङ्कास्पद रूपमा मृत फेला परेको घटनाप्रति संसद्मा आवाज उठाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक महरले बझाङ स्थायी घर भई खोटाङमा सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मी धामीको मृत्युको घटना रहस्यमय देखिएको बताए। उनले दुर्गम क्षेत्रमा जनताको सेवा गर्न खटिएका राष्ट्रसेवक कर्मचारीहरू आफ्नै कार्यक्षेत्रमा असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे।

बैठकमा बोल्दै एमाले सचेतक महरले भने - "बझाङकी २३ वर्षीया होनहार चेली अनिशा धामी खोटाङमा कार्यरत रहेको अवस्थामा आफ्नै डेराको कोठामा मृत भेटिएकी छन्। यो घटना सामान्य आकस्मिक मृत्यु मात्र हो या यसको पछाडि कुनै आपराधिक षड्यन्त्र छ? यसको गहिरो र निष्पक्ष छानबिन हुनुपर्छ। सरकारले तत्काल घटनाको सत्यतथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिनुपर्छ।"

उनले कार्यक्षेत्रमा खटिने महिला स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सुरक्षा ग्यारेन्टी गर्न र यस घटनाका दोषीहरू कोही भए तत्काल कानुनी दायरामा ल्याउन गृह मन्त्रालयसँग माग समेत गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट