सर्लाहीमा ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी गुडु कुमार यादव र रामनगर गाउँपालिका–१ का २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ३२ लाख रुपैयाँ नगद उनीहरूको साथबाट बरामद गरिएको हो।
असार ४ गते मलंगवा नगरपालिका–१० स्थित झिम पुल क्षेत्रमा मधेश प्रदेश–०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद रकमको वैधानिक स्रोत खुल्न नसकेको प्रहरीले बताएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस