एक महिनामै २,१८२ फरार प्रतिवादी पक्राउ, २३ करोड जरिवाना असुल
काठमाडौँ। नेपाल प्रहरीले अदालतको फैसला कार्यान्वयन र फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई तीव्र पारेको छ। देशभर चलाइएको विशेष अपरेशनका क्रममा पछिल्लो एक महिनामा मात्रै विभिन्न मुद्दाका २ हजार १८२ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।
प्रहरीको यो ठूलो सफलतासँगै वर्षौँदेखि ओझेलमा परेको कुल ८०७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनको दायरामा आएको छ। साथै, पक्राउ परेकाहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर र ठगी जस्ता जघन्य तथा गम्भीर मुद्दामा दोषी ठहर भई फरार रहेकाहरूलाई निशाना बनाएर यो अभियान चालिएको हो।
कहाँबाट कति पक्राउ परे? (प्रादेशिक विवरण)
मधेश प्रदेश: ५३९ जना (सबैभन्दा बढी)
बागमती प्रदेश: ३६० जना
काठमाडौँ उपत्यका प्रहरी कार्यालय: ३२६ जना
लुम्बिनी प्रदेश: ३२० जना
कोशी प्रदेश: ३०५ जना
गण्डकी प्रदेश: १३२ जना
सुदूरपश्चिम प्रदेश: १२० जना
कर्णाली प्रदेश: ६३ जना
केन्द्रीय अनुसन्धान ब्यूरो (CIB): १७ जना



तपाईको प्रतिक्रिया दिनुहोस