नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीसहित दोषी ठहर भएकाको सजाय आज निर्धारण हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेपछि आज सजाय निर्धारणको सुनुवाइ हुन लागेको हो।
नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र छुट्टै सुनुवाइमार्फत सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार अदालतले आजका लागि सजाय निर्धारणको पेसी तोकेको हो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन्।
यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल लगायतका प्रतिवादीलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीलाई पनि आजको सुनुवाइबारे जानकारी गराउँदै सजायपूर्वको प्रतिवेदन तथा अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस