आकर्षक देश पठाइदिने प्रलोभनमा करोडौँ ठगी गर्ने ६ जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं, ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरू र ठगीको विवरण:
सुमित बस्नेत (२५ वर्ष, कीर्तिपुर-४): अमेरिका पठाइदिन्छु भन्दै १४ जना पीडितबाट २ करोड ८४ लाख रुपैयाँ ठगी गरेको आरोपमा कीर्तिपुरबाट पक्राउ।
जनक बहादुर कुँवर (४८ वर्ष, भक्तपुर/बैतडी): जापान, पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै १६ जनाबाट १० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं-१२ बाट पक्राउ।
रञ्जिता कुमारी चौधरी (२४ वर्ष, काठमाडौं-३२/कैलाली): नर्वे पठाइदिन्छु भन्दै १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं-४ बाट पक्राउ।
सन्तोष साह (३२ वर्ष, काठमाडौं-३२/सिराहा): मालदिभ्स पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं-३२ बाट पक्राउ।
सिमा खान (३९ वर्ष, ललितपुर-२/चितवन): क्यानडा पठाइदिन्छु भन्दै १ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर-४ बाट पक्राउ।
राज कुमार बास्कोटा (४० वर्ष, काठमाडौं-१४/धादिङ): इटाली पठाइदिन्छु भन्दै १ जनाबाट १४ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं-१४ बाट पक्राउ।
रकम लिई सम्पर्कविहीन बनेका उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल (काठमाडौं) पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस