एकै परिवारका तीन जनाको हत्या: पूर्वश्रीमान कोइराला पक्राउ

रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन् । डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन् ।
३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताएका छन् ।
हत्याको खबर भने प्रहरीलाई बिहान ७ बजे मात्रै पुगेको थियो । क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन् । उनलाई मंगलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए ।
‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ ।’
दीपाका पूर्वश्रीमान् सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान थालिएको क्षेत्रीले बताए । मृतक महिला पाल्पाको तानसेन नगरपालिका-७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस