Techie IT
२०८३ असोज ११, आइतबार

प्रिय नौमूले तिम्रो भागमा असमानता पर्‍यो


“ प्रिय नौमूले ”


प्रिय नौमूले 
तिम्रो पोल्टाहरुमा
समानता होइन असमानता पर्‍यो
शोषण र उत्पीडन पर्‍यो
अन्धकार र अपहेलना पर्‍यो
काडाहरुको जंगल पर्‍यो
मृत्युहरुको मंगल पर्‍यो
सधै भोक पर्‍यो
सधै रोग पर्‍यो
सधै शोक पर्‍यो ।

प्रिय नौमूले,
तिमिले 
पसिनाका नौमूल बगायौ
खुनी जुकाहरुले चुसे र मोटाए
तिमी पिडाको लोहोरे लिएर रोयौ ।
दुष्टहरु,
मुस्कानको तीनचुले लिएर उठे 
गोरु झैं निरन्तर जोतिदा
शोषकहरु,
एश्वर्यको मखमली फुलाइरहे
दुखको भारी उठाइरहदा
सामन्तहरु,
विलासिताको महाबु चढिरहे
तिमीलाई अत्याचारले थिचिरहदा
जालीहरुले,
शान्तीको झन्डा उठाइरहे ।

प्रिय नौमूले, 
समानताको जस्केलोमा नपुगी थचारिएर
न्यायको अदालत नदेखी पछारिएर
जिर्न भयौ
जर्जर भयौ
निरंकुश तिरले घोचेर 
पाशविक झिरले पोलेर 
वर्वर तरवारले छिनालेर 
निरन्तर, 
चिहानघाटको यात्री बनाइरहे
तिम्रो जीवनको लामो बाटोमा
ति सहरबारीका जंगलहरुभित्र 
मृग सावकहरु कति नाचे होलान् 
तिमी नाच्नै सकेनौ
ति अग्ला हिमालहरु सेताम्य 
फुलेर कति हासे होलान् 
तिमी हास्नै सकेनौ
हो हास्नै सकेनौ
तिम्रो जिवनमा दुखको
बाढि बगिरह्यो ,बगिरह्यो
गाँस बिना तटपिदा
अभाव गरिबीको नाटक बन्यो
बाँस बिना गुर्जिरहदा
आकाश ओढेर धर्ती बिच्चाउनु पर्‍यो ।
कपास बिना बाचिरहदा, 
च्यातिएको टालोमा इज्जत लपेटिरह्यो
अभावका अग्ला पहाडहरु चढेर 
अत्याचारका शुष्क बगरहरु तरेर 
कमजोर जीवन जीउँदै 
दासताका नुनिला आँसु पिउदै
प्रिय नौमूले, 
दुष्टहरुको दृस्ठिमा 
आँखाको कसिङगर बन्यौ
मृत्युको अजिङ्गर बन्यौ
अब नौमूले तिमीले 
शोषणको लैनो भैंसी हुनुहुन्न
कालरात्रीका नायकहरुको 
दिर्घायुको कामना गर्ने 
सनाई पनि हुनुहुन्न
मुठ्ठीभित्रको अनाज पनि बन्नु हुन्न 
दुष्ट शासक र प्रशासक हरुको जन्ती पनि बन्नु हुन्न ।

प्रिय नौमूले,
पसिनाको चुस्की लिनेलाई 
बारुदको घोल पिलाउनुपर्छ
रगतको पोखरीमा पौडी खेल्नेलाई 
आगो चुसाउनु पर्छ,
आँसुको प्यालामा हास्नेलाइ 
हाड मासुको उभारमा नाच्नेलाई 
लोहोरेको आर्यघाट पुर्याउन 
अथक र अविरल यात्रामा जुट्नुपर्छ 
प्रिय नौमूले ।
                                      ✍️ किरण विद्रोही



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट