Techie IT
२०८३ श्रावण १७, आइतबार

म्याग्दीको डाँडागाउँमा ५५ लाखमा खेलमैदान र भवन निर्माण


म्याग्दीको मालिका गाउँपालिका–६ डाँडागाउँमा सामुदायिक पहल र श्रमदानबाट हिमाली युवा क्लबको सामुदायिक भवन तथा खेलमैदान निर्माण गरिएको छ। रु ५५ लाख ६५ हजार ५५५ को लागतमा सम्पन्न उक्त आयोजना सरकारी अनुदानभन्दा बढी समुदायको योगदानमा आधारित रहेको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष टुकमान जुग्जालीका अनुसार सरकारी निकायबाट प्राप्त सहयोगभन्दा दोब्बर बढी रकम स्थानीयवासीको श्रमदान र आर्थिक सहयोगबाट जुटाइएको हो। “यसअघि खेलमैदान रहेको स्थान भिरालो पाखा थियो, डोजर प्रयोग गरेर करिब ६० मिटर क्षेत्रफल सम्याई डिलमा पर्खाल बनाएर मैदान निर्माण गरिएको हो,” अध्यक्ष टुकमानले भने ।

निर्मित खेलमैदान ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइको रहेको छ। मैदान परिसरमा दुई कोठे सामुदायिक भवन, स्टेज तथा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ। यसअघि खेलमैदान अभावका कारण स्थानीयस्तरमा खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो भने अब भेला, बैठक, तालिम, गोष्ठी तथा अन्य सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ।

मालिका गाउँपालिकाबाट रु १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु १२ लाख सहयोग प्राप्त भएको थियो। त्यस्तै, हिमाली युवा क्लबले रु ४ लाख ७६ हजार बराबरको श्रमदान जुटाएको छ भने फुलपाती आमा समूहले रु ३ लाख नगद सहयोग गरेको जनाएको छ। स्थानीय व्यक्तिहरूले समेत उल्लेखनीय आर्थिक योगदान दिएका छन्।

क्लबले करिब १५ वर्षअघि सुरु गरेको खेलमैदान निर्माण कार्य अहिले पूर्णता पाएको हो। बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले खेलमैदान र मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले भवन उद्घाटन गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट