Techie IT
२०८३ जेष्ठ १०, आइतबार

१० वर्षपछि जानकी गाउँपालिकाले बनाउँदै आफ्नै भवन, राणाले गरे जग्गा दान


कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु गरेको छ। सार्वजनिक जग्गाको अभावका कारण लामो समयसम्म भवन निर्माण हुन नसकेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्र भवन निर्माणका लागि उपयुक्त सार्वजनिक जग्गा नहुँदा प्रक्रिया लम्बिएको थियो। इँट्टा व्यवसायी तेजप्रताप राणाले एक बिघा १० कट्ठा जग्गा दान गरेपछि प्रशासनिक भवन निर्माणको काम अघि बढेको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार १२ करोड ८ लाख २७ हजार ९३८ रुपैयाँ लागतमा अढाई तलाको भवन निर्माण भइरहेको छ। निर्माणको जिम्मा त्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले लिएको छ।

भवन निर्माणका लागि २०८२ असार २२ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार २० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

इन्जिनियर शाहीका अनुसार आगामी वर्षदेखि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेको छ। निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाह ले हालसम्म २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताए। उनका अनुसार निर्माण स्थलमा डुबानको समस्या हुने भएकाले वर्षायाममा काम गर्न कठिन भइरहेको छ।

हाल गाउँपालिकाले वडा नम्बर १ को प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दै आएको छ भने केही शाखा अझै भाडाको घरमा सञ्चालन भइरहेका छन्। वडा नम्बर १ को कार्यालय साविक दुर्गौली गाविस भवनबाट सञ्चालनमा छ।

सार्वजनिक जग्गाको अभावकै कारण वडा नम्बर ५ र ६ का प्रशासनिक भवन पनि निर्माण हुन सकेका छैनन्। दुवै वडा कार्यालय अहिले भाडाकै भवनबाट सञ्चालन हुँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट