अम्बे स्टिलमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित ‘अम्बे स्टिल’ सरिया उद्योगभित्र फर्नेस आयलको ट्यांकीमा आगलागी हुँदा १ करोड ५६ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने तेल (फर्नेस आयल) राखिएको २ लाख लिटर क्षमताको ट्यांकीमा विद्युत् सर्ट भई आगलागी भएको हो।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:३० बजे ट्यांकीमा अचानक लाइन सर्ट सर्किट भएर सल्केको आगो नियन्त्रण बाहिर गएको थियो। घटनालगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली खटिएको थियो। सुरक्षाकर्मी, स्थानीय बासिन्दा र दमकलको टोलीले निरन्तर प्रयास गरेपछि दिउँसो करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
२ लाख लिटर तेल क्षमताको ट्यांकीमा आगलागी हुँदा प्रारम्भिक विवरण अनुसार १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा मानवीय क्षति भने हुन नपाएको र आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस