खुम्बु पासाङल्हामु गाउँपालिका आइतबार पनि खुल्ने, संघीय सरकारको निर्णय अस्वीकार
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले संघीय सरकारको दुईदिने सार्वजनिक बिदाको निर्णयविपरीत आइतबार पनि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको १२१औँ बैठकले आइतबारसमेत कार्यालय तथा स्वास्थ्य संस्था खोल्ने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सूचनाअनुसार मंसिर १३ गते आइतबारदेखि नै लागू हुने गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू सञ्चालनमा आउनेछन् ।
भौगोलिक विकटताका कारण सवारीसाधनमा इन्धनको प्रयोग सहरी क्षेत्रको तुलनामा न्यून रहेको र आइतबार बिदा दिँदा दुर्गमका बिरामी उपचारबाट वञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिइएको गाउँपालिकाले स्पष्ट पारेको छ । नागरिकका प्रशासनिक कार्य र सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो तथा प्रभावकारी बनाउन आइतबार बिदा नदिने निष्कर्षमा कार्यपालिका पुगेको हो ।
सूचना अनुसार आइतबारका दिन पनि अन्य कार्यदिनसरह बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सेवा प्रवाह तथा शैक्षिक संस्थामा पठनपाठन सुचारु हुनेछ ।
यद्यपि, जाडोयामको समयावधि अर्थात् आगामी माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । यसअघि संघीय सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस