सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न सभापति थापाको माग
नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गर्दै उक्त प्रक्रिया निष्पक्ष हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिनका लागि कांग्रेस पूर्ण रूपमा तयार र खुला रहेको स्पष्ट पारेका हुन् ।
सभापति थापाले २०४६ सालयता सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ गर्न र हालसम्म थन्काइएका सबै अनुसन्धानका फाइलहरूको छानबिन तत्काल अगाडि बढाउन सरकार समक्ष माग समेत गरे । कांग्रेसमा आबद्ध कोही व्यक्तिले गलत गरेको भए कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै उनले गल्ती नगरेको अवस्थामा प्रतिशोध साँधेर दुःख दिने नियत राखिए त्यो स्वीकार्य नहुने चेतावनीसमेत दिए ।
सम्पत्ति छानबिन र अन्य अनुसन्धानका प्रक्रियाहरू कानुनबमोजिम अगाडि बढ्नुपर्नेमा सभापति थापाले जोड दिए । उनले भने, “अनुसन्धान कानुन अनुसार हुनुपर्छ, सरकारका निकायहरू विधि र कानुनअनुसार चल्नुपर्छ ।”
कानुनको यही मापदण्ड राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा पनि समान रूपले लागू हुनुपर्ने सभापति थापाको भनाइ थियो । कुनै नेता वा मन्त्रीका बारेमा चर्चा वा प्रश्न उठ्दैमा कोही दोषी नहुने तर गल्ती गरेको खण्डमा जोसुकै भए पनि कानुनअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढ्नुपर्ने उनले बताए । कार्यक्रममा थापाले सम्पत्ति छानबिन र कानुनी शासनप्रतिको पार्टीको यही स्पष्ट धारणा जनताकहाँ प्रस्टसँग राख्न स्थानीय तहका प्रतिनिधिहरूलाई निर्देशन दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस