यसै वर्ष निसेलढोरमा केन्द्रीय प्रसारण लाइन पुर्याउने ऊर्जामन्त्री श्रेष्ठको प्रतिबद्धता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गरिने बताएका छन् ।
बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यहाँबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि चालु वर्षमै विद्युत् पुर्याउने लक्ष्य रहेको जानकारी दिए । निसेलढोरमा विद्युत् विस्तार भएसँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण पूरा हुने उनको भनाइ थियो ।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको स्थलगत निरीक्षणपछि बोल्दै मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम तीव्र रूपमा अघि बढाइने बताए । उनले भने, “चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ । त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्याउँछौँ । त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ ।”
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । पहिरो नियन्त्रणका लागि परम्परागत संरचनासँगै बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्नेमा उनले जोड दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस