Techie IT
२०८२ जेष्ठ १०, शनिबार

जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित


जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये कनकासुन्दरी  र पातारासी गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका आठवटै वडाका १५ महिना मुनिका २०३ बालबालिकाहरूले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिनाभित्रका ५८८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।

चालु आर्थिक वर्षमा हालसम्म सबैले पूर्णखोप पाएको र आगामी दिनमा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै कनकासुन्दरीलाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाले जानकारी दिए ।

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित भएपछि पातारासी गाउँपालिकालाई घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाले जानकारी दिए ।

पातारासीका पाँच वर्ष मुनिका ५२७ बालबालिका छन् । जसमा ०–१५ महिनासम्म २१९ र १६ देखि ५९ महिनासम्मका जम्मा ३०८ बालबालिकाले पूरा खोप पाइसकेको गाउँपालिकाले जनाएको छ ।

खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर सोमैले बताएका छन् । बाँकी स्थानीय तह पनि पूर्णखोप सुनिश्चितता घोषणामा जुटेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

पूर्णखोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट