Techie IT
२०८२ असार ११, बुधबार

ललितपुर महानगरको बजेट सार्वजनिक: सामाजिक विकास र पर्यावरण संरक्षणमा जोड


ललितपुर महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ ।

आज बसेको नगरसभाको बैठकमा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गरेका थिए । उनका अनुसार चालुतर्फ रु दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ रु चार अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ ।

बजेटमा स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ४१ करोड २७ लाख ९४ हजार र प्रदेश सरकारबाट रु १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै, आन्तरिक आयबाट रु तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ ।

महानगरबाट हुने विकास निर्माणमा जनसहभागिताबापत रु आठ करोड ५० लाख प्राप्त हुने अपेक्षा गरिएको छ भने अन्तर सरकारी अख्तियारीबाट रु ९५ करोड १५ लाख प्राप्त हुने अनुमान छ । विनियोजन बजेटका लागि नपुग हुने रु एक अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट बेहोरिने उपप्रमुख बज्राचार्यले उल्लेख गरे ।

नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगोे पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घरघर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

यही असार ६ गतेको नगरसभाको पहिलो बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । सोही नीति तथा कार्यक्रमका आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट